पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६० जना मात्रै दौडिन पाउने

-


     मर्दी न्युज    
     १७ माघ २०८० मा प्रकाशित


फाइल तस्विर

पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा (संख्या) निर्धारण सँगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ ।

नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालित पोखरा म्याराथनमा सहभागिता जनाउन यस वर्षबाट कोटा निर्धारण गरिएको हो ।

तोकिएको भन्दा बढी सङ्ख्यामा सहभागी भएमा उनीहरूले चाहेको दूरीको दौडमा सहभागी हुन पाउने छैनन्, मात्र ‘रन फर फन’मा मात्र दौडनुपर्नेछ।

आगामी फागुन ५ गते हुने प्रतियोगिताका लागि म्याराथनसहित सबै दूरीको दौडमा कोटा निर्धारण गरिएको हो। त्यसका लागि माघ २८ गतेसम्म धावकले नाम दर्ता गराउनुपर्ने आयोजकले बताएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्चले यो प्रतियोगिता आयोजना गरेको हो। नेपाली सिटी म्याराथनको अभ्यासमा यसरी कोटा निर्धारण गरिएको यो नै पहिलो पटक भएको मञ्चले जनाएको छ ।

मञ्चका अनुसार खुल्ला म्याराथन (४२.१९५ किमी) मा १ सय ६० जनाको सङ्ख्या निर्धारण गरिएको छ। त्यस्तै महिला हाफ म्याराथनमा ५० जना, १० किमी पुरुष दौडमा ४ सय ५० जनाको कोटा तोकिएको छ। १० किमी महिलातर्फ १ सय ५० जना, ५ किमी छात्रतर्फ १२ सय, ५ किमी छात्रातर्फ ७ सय, ५ किमी भेट्रान पुरुषतर्फ ५० र ५ किमी भेट्रान महिलातर्फ २५ जनाको कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए। अपाङ्गता भएका व्यक्तिको दौडमा भने कोटा निर्धारण गरिएको छैन।

यस अघि म्याराथमा सीमित चिप्सको प्रयोग गरिएकोमा १८ औं संस्करणको खुल्ला म्याराथनसंगै हाफ म्याराथन महिला, १० किमि महिला÷पुरुष दौड र ५ किमि छात्र÷छात्राको दौडमासमेत चिप्सको प्रयोग हुने भएको अध्यक्ष पराजुलीले जानकारी दिए । अपाङ्गतर्फको दौडमा भने चिप्सको प्रयोग हुनेछैन ।

“अब सबै दौडहरुको सहि समय र दुरी मापन हुन्छ” उनले भने–“कुनै पनि धावकले रुट भन्दा बाहिर भागबाट छलेर दौड पुरा गर्न पाउने छैनन् । यसले खेलाडीमा समेत् हौसला बढ्नेछ भने आफ्नो टाइमिङकोस्तर के हो भन्ने विषयमा स्पष्ट हुन सकिनेछ ।”

गत वर्षबाट खुल्ला म्याराथनबाट सुरु गरिएको चिप्सको प्रयोग नेपाल रन युकेको सहकार्यमा भएको हो । १८ औं सस्करणका लागि भने सबै टेक्निकल डिभाइस (चिप्स)हरु करिब ३ हजार थान गैर आवाशिय नेपाली संघ (एनआरएनए) आइसिसी र पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युकेको सहकार्यमा भएको मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

पोखरा म्याराथनको मुख्य प्रायोजकको रुपमा सुजल डेरीको उत्पादन सफल दुध रहेको छ । यसै गरी गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, पोखरेली मञ्च युके, गैर आवाशिय नेपाली संघ, तमु धिं युके, सहारा युके, बगर भाइ खलक युके, नेपाल रन युके, नेपाली समाज अस्ट्रेलिया, अमेरिका, वि विल राइज फाउन्डेशनलागयतको मुख्य सहयोग रहनेछ ।