आजको मौसमः हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     माघ १८ गते २०८० मा प्रकाशित


पोखरा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण अहिले बिहान सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा, कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भैरहेको छ। साथै देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ ।