पोखरा । बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाबाट रकम अपचलन गरेको आरोप लागेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ९ महिनादेखि फरार छन् ।
बचतकर्ताले ठगीमा उजुरी दिएपछि गत जेठदेखि फरार रहेका नेपालीले बचतकर्ताको रकमबाट समेत आफूले घर जग्गा जोडेको स्वीकार गरेका छन् । तर आफूसँग अहिले बचतकर्ताको रकम फिर्ता गर्न नगद नभएको उनले बताएका छन् ।
गत जेठ ५ गतेदेखि फरार मेयर देवकुमारले मंसिर ५ गते फेसबुकमार्फत भिडियो र विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए । मंगलबार नेपालीले एक अपिल सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमतीका नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति विवरणसमेत सार्वजनिक गर्दै सबै बचतकर्ताको जिम्मा लगाउन चाहेको उल्लेख गरेका छन् ।
‘विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका शेयर सदस्य बचतकर्ताले जम्मा गरेको बचत तथा बैंकहरुवाटसमेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौँ’, आफू र श्रीमती छेला नेपालीको नाममा रहेको घरजग्गाको विवरण उल्लेख गर्दै नेपालीले भनेका छन्, ‘यो सम्पत्ति आजको आजै बिक्री वितरण गरेर सदस्यहरूलाई नगद रकम बचत फिर्ता गर्ने अवस्था नभएका कारण आफूहरू समस्यामा परेको’ उनले बताएका छन् । नेपालीले भनेका छन्, ‘यो सम्पत्ति बिक्री वितरण गर्दा बैंकको ऋण र बचतकर्ताको बचत फिर्ता गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौँ ।’
बचतकर्ताको रकम फिर्ता गर्न आफू पूर्णरुपमा प्रतिबद्ध रहेको नेपालीले बताएका छन् । घरजग्गाहरु बिक्री वितरण गरेर प्राप्त हुने रकमबाट बैंकहरुबाट लिएको ऋण भुक्तान गरी सदस्य बचतकर्ताहरुको बचत फिर्तां गर्ने कुरामा साथ दिन पनि उनले अपिल गरेका छन् ।
मेयरको विज्ञप्ति :