सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्दछ : झलनाथ खनाल

-


     मर्दी न्युज    
     २७ माघ २०८० मा प्रकाशित


पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोश बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उनले उल्लेख गरे । नेता खनालले जनताका आधारभूत समस्या छुनेगरी सरकारले काम गर्नुपर्ने बताए ।

सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गरे । अहिलेको बाटो यथास्थितिको भएकाले यसको परिवर्तन सम्भव भएकाले राजनीतिक पार्टीहरुले नयाँ ढङ्गले सिंहावलोकन गर्नुपर्ने उनले उल्लेख गरे ।

नेता खनालले भने, “सत्तामा बसेका शक्तिले ठिक ढङ्गले काम गर्न नसकेकाले अन्य शक्ति देखिएका छन् । सत्तामा बस्नेले नीति र कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ ।” नेपालको कम्युनिष्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उनको भनाइ थियो । उनले सही कार्यदिशा भएका खण्डमा कम्युनिष्ट आन्दोलन पुनःएकताबद्ध हुने उल्लेख गरे ।