नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

-


     रासस/सिन्ह्वा    
     १ फाल्गुन २०८० मा प्रकाशित


अबुजा, १ फागुन । नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ ।
संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार खोजतलास अबुजाको देई–देई–जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो । त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ।

‘त्यस क्षेत्रमा छापा मार्दा २९३ पुरुष र १४ महिला संदिग्ध अपरहणकारीहरूलाई पक्राउ गरिएको,’ इग्वेहले बताएका छन्।

संदिग्धहरूबाट हातहतियार र अन्य खरखजाना बरामद भएको बताइएको छ । प्रहरीले छापा मार्दा उनीहरूको साथबाट अवैध लागुऔषध तथा आपराधिक कार्यमा प्रयोग हुने मोटरसाइकल समेत फेला परेको छ।

संदिग्ध व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ ।