फेवातालको मापदण्ड ६५ मिटर, फिर्केको ६ मिटर

-


     मर्दी न्युज    
     फागुन १० गते २०८० मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाले भवन तथा पूर्वधार निर्माण मापदण्ड २०८० सार्वजनिक गरेको छ । बुधबार आयोजित कार्यक्रममा महानगरका मेयर धनराज आचार्यले ‘पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ सार्वजनिक गरेका हुन् । नयाँ मापदण्डले भवन, बाटोसँगै ताल, पोखरी, नदी, खोला, डिल, भिरको दुरी कायम गरिएको छ ।

चर्चामा रहेको फिर्के खोलाको मापदण्ड ६ मिटर तोकिएको छ । यो मापदण्ड कार्यान्वयन गर्ने हो भने १ सय ६० भन्दा बढी संरचना भत्काउनुपर्ने हुन्छ ।

यस्तै फेवातालसहित अन्य तालहरुको मापदण्ड सर्वोच्च अदालतको आदेश अनुसार तय भएको छ । डिल, भीर, पहिरोछेउमा निर्माणका लागि त्यसको उचाइ अनुसार सेटब्याकको व्यवस्था छ । ५ मिटर अग्लो डिल, भीर पहिरोमा २ मिटर सेटब्याक राख्नुपर्ने छ भने ५ देखि १० मिटरसम्म ३ मिटर, १० देखि १५ मिटरसम्मका लागि ५ मिटर सेटब्याक तोकिएको छ । यसैगरी, १५ देखि २० मिटर अग्ला डिल, भीर, पहिरोको सेटब्याक साढे ७ मिटर र २० मिटरभन्दा आग्लामा १० मिटर सेटब्याक तोकिएको छ ।

सेती नदी र मर्दी, मर्दी, सुरौदी, काली, पुँडी र हर्पनखोलाको मापदण्ड ३० मिटर तोकिएको छ । याम्दी र सुइखोलाको मापदण्ड १७ मिटर तोकिएको छ । फिर्के र बुलौदी खोलामा पूर्वाधार बनाउँदा ५ मिटर छाड्नुपर्ने भएको छ भने बगादीखोला, बेगनासताल खोला र तालखोला छेउमा भवन तथा अन्य पूर्वाधार बनाउँदा ७ मिटर छाड्नुपर्ने भएको छ । यसैगरी, भलामखोला र काहुँखोलाको १० मिटर र पार्दी खोलाको साढे १२ मिटर मापदण्ड निर्धारण भएको छ । पोखरा महानगरभित्रका अरु सबै सामान्य खोल्साको ६ मिटर मापदण्ड छाडेर भवन निर्माण गर्नुपर्ने भएको छ ।

भवन तथा पूर्वाधार निर्माण मापदण्ड, २०८० मा पूर्वाधार अन्तर्गत सडक पनि समेटिएको छ । पोखराभित्र राजमार्ग २५, मुल मार्ग १५, शाखा मार्ग ७.५, प्रशाखा ६, पहँच मार्ग ५, स्थानीय मार्ग ४.५ मिटर फराकिलो हुने उनले जानकारी दिए । यस्तै पोखरामा महानगरले बनाउने चक्रपथ १५ मिटर फराकिलो हुने उनले बताए ।