मानेचौकामा कर्मफ्लाइटसको निःशुल्क स्वास्थ्य शिविर

-


     मर्दी न्युज    
     १४ फाल्गुन २०८० मा प्रकाशित


तनहुँ । तनहुँको भानु नगरपालिकाको पूर्वोत्तर गाउँ मानेचौमा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । भानु नगरपालिका, ११ नम्बर वडा कार्यालयको विशेष संयोजनमा पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको प्राबिधिक सहयोगमा कर्म फ्लाइट्स फाउण्डेशन नेपाल र मित्रता युवा क्लब मनेचौका, भानु ११ को संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरको उद्घाटन भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी र ११ नम्बर वडाका वडा अध्यक्ष विमलराज जोशीको डाक्टर सरोज पोखरेलले भाइटल लिएर सुरु भएका थिए भने कार्यक्रमको बारेमा कर्मप्लाइटसका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिएका थिए ।

उक्त शिविरमा एकै दिन ४०० भन्दा धेरै पुरुष र महिलाहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। सेवा लिन टाढाटाढाबाट बिरामीहरु आएका थिए । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरका डा सरोज पोखरेल र स्वास्थ्य संयोजक कृष्ण पाण्डेको नेतृत्वमा स्वास्थ्यकर्मी, प्राविधिक र स्वयंसेवक गरी ३२ जनाको टोली परिचालित थिए ।

सहआयोजक मित्रता युथ क्लब मानेचौका र रुपाकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, त्यत्तिकै संख्यामा खटिएका स्वयंसेवकहरूले शिविरको उच्च व्यवस्थापन गरेका थिए । त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त शिविर सञ्चालन भएका थिए।

शिविरबाट बिरामीहरुले सामान्य चिकित्सा, हाड जोर्नी तथा नशा रोग, महिला तथा स्त्रीरोग, रेडियोलोगिस्टका साथै प्रयोगशाला सेवाहरू (रगतमा सुगर परीक्षण, पिसाब÷यूटीआई र दिसा, फ्याटी लिभर), इसिजी, भिडियो एक्सरे सेवा र प्रिस्क्राइब्ड औषधिहरु लगाएतको सम्पूर्ण सेवा निःशुल्क प्राप्त गरेको संस्थाका स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।

शिविरमा विशेष गरी महिला स्वास्थ्यमा विशेष ध्यान दिइएको र स्त्रीरोग समस्या भएका ६८ भन्दा बढी महिलालाई डा. नविना पौडेलको टोलीले विशेष उपचार प्रदान गरेका थिए। विभिन्न प्रयोगशाला परीक्षणमा ११९ जनालाई रिफर गरिएको थियो भने १०० जनाले ईसीजी (मुटुको) स्क्यान, १२९ जनाले भिडियो एक्सरे स्क्यानिङ, १०६ जनाले हाड जोर्नी तथा नशा रोगको गुनासो लिएर विशेषज्ञ डाक्टरको सेवा, २ सय ८३ जनाले सामान्य चिकित्सकसँग परामर्श लिएका थिए भने करिब ५० जनाले फोक्सोको जाँच सेवा लिएका थिए । जसमध्ये १० जनालार्इ सिओपिडीको समस्या भएको औल्याइएको थियो ।

टाढा–टाढाबाट आएका मानिसहरु बिहान ७ बजेदेखि नै लाइनमा बसेका थिए । कर्मफ्लाइट्स, मित्रता युथ क्लब, मेडिप्लस हस्पिटलको सार्थक र भरपर्दो सहयोग बिना यो स्वास्थ्य शिविर सफल नहुने कुरा बताउँदै डाक्टर पोखरेलले शिविर पश्चात विरामीहरुको फलोअप यहाँको स्वास्थ्य चौकीले गर्नुपर्ने र डोज पुग्ने गरि दिएका औषधिहरु बिरामीले सही तरिकाले सेवन गरे नगरेको परिवारजनले निगरानी राख्नु बताए ।

लायन्स क्लब अफ पोखरा स्काई टाउन र स्थानीय आमा समूहहरुले शिविरलाई भव्य रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । शिविरको लागि यस प्रकारको व्यवस्थापकीय सहयोग पुर्याउने विभिन्न मनकारी महानुभावहरुलाई क्लबका अध्यक्ष्य सुदिन केसीले धन्यवाद ज्ञापन गरेका थिए । स्थानीय आयोजक अमृत थापाका अनुसार विशिष्टीकृत शेवा, निःशुल्क औषधि सहितको स्वास्थ्य शिविर यस क्षेत्रमा पहिलो भएको र यस शिविरबाट आफूहरु सन्तुष्ट भएको बताए ।