प्रतिनिधिसभा बैठक सुरु, रुलिङ कार्यान्वयनको माग

-


     मर्दी न्युज    
     फागुन १८ गते २०८० मा प्रकाशित


काठमाडौँ, १८ फागुन । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दलहरुले संसद्का यसअघिका बैठकमा उठेका विषय सम्बोधन नभएको भन्दै विरोध जनाएका छन् ।

संसद्मा उठेका विषयमाथि प्रधानमन्त्रीले जवाफ दिने भनी सभामुखले रुलिङ गरेको विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापाले ध्यानाकर्षण गराएको हो ।

“संसद्मा उठेका विषयमा प्रधानमन्त्रीबाट जवाफ दिन भन्दै फागुन ६, १०, ११, १३ र १४ गतेको बैठकमार्फत सरकारलाई रुलिङ भएकामा अहिलेसम्म त्यसको कार्यान्वयन भएन । सरकार संसद्प्रति जवाफदेही भएन”, उनले भने ।

मिटरब्याजपीडितका समस्या, दूध किसानले आफ्नो उत्पादनको मूल्य नपाएका, बालकुमारी घटनालगायत विषयमा सांसद थापाले सरकारको ध्यानाकर्षण गरे ।

उनले भने, ‘लघुवित्त, सहकारी, मिटरब्याज पीडितहरू अहिले उपत्यकामा आउनु भएको छ, यस्तो अवस्थामा पनि सरकार जबाफदेही भएन, सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो, प्रधानमन्त्रीको खोजी गर्न पर्‍यो त्यसको लागि यो संसदले उच्च स्तरीय समिति बनाउनु पर्ने हो की? संसद स्थगित गर्नुपर्ने हो की?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पनि मिटरब्याजपीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसान सडकमा रहेका विषयमा सरकारको ध्यानाकर्षण गराए । बैंक तथा वित्तीय क्षेत्रका समस्या, नेपाली युवा रुसी सेनामा भर्ना भइरहेकामा उनीहरुलाई फिर्ता बोलाउन प्रक्रिया थाल्नेलगायत विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

संसद्मा उठेका विषयमाथि प्रधानमन्त्री जवाफ माग गर्दै प्रतिपक्ष दलहरुले केहीबेर आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिए ।