काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिएको छ । रिक्त हुने २० मध्ये १९ जना माघ ११ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भइसकेका छन् । निर्वाचित १९ सदस्यहरुले आज शपथ ग्रहण गर्दै छन् । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सदस्यहरुले आज शपथ ग्रहण गर्न लागेको हो ।
आज शपथ ग्रहण गर्ने राष्ट्रिय सभा सदस्यहरुमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट छन् ।
माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्दले शपथ लिनेछन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल र सावित्री मल्ल, नेकपा एमालेबाट रुक्मिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले राष्ट्रिय सभा सदस्यको शपथ लिंदै छन् ।
२०७४ सालमा निर्वाचित भएका अध्यक्षसहित २० जनाको ६ वर्षे कार्यकाल आइतबार राति १२ बजेदेखि सकिएको हो । अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिएको हो ।
त्यस्तै काँग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थको पनि पदावधि सकिएको छ । माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा पनि हिजोबाट पदावधि सकिएको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाईं, सिंहबहादुर विश्वकर्मा, खिमलाल देवकोटा, जसपाबाट प्रमिलाकुमारी र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल पनि सकिएको छ ।
२०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रिय सभा निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।