नयाँ सत्ता गठबन्धनका तीन मन्त्रीले शपथ लिँदै

-


     मर्दी न्युज    
     २१ फाल्गुन २०८० मा प्रकाशित


काठमाडौँ । नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन्।

सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

नयाँ मन्त्रीहरूको शपथ आजै गर्ने तयारी छ। ती नेताका अनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन्।

गिरी पर्वत, तामाङ नुवाकोट–१ र अर्याल रास्वपाबाट समानुपातिकमा निर्वाचित सांसद हुन्।

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

यता नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीहरुले राजीनामा नदिने जनाएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बिहान बसेको नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रधानमन्त्री दाहालले नयाँ मन्त्रिपरिषद गठन गर्ने भएकाले राजीनामा नदिने उपसभापति धनराज गुरुले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा एमालेसहितका दलको नयाँ गठबन्धन बनेपछि कांग्रेसको बैठक बसेको हो ।