पोखरा, २७ फागुन । पोखरा महानगरपालिको सातौँ स्थापना दिवस विविध कार्यक्रम आयोजनाका साथ सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा आज रक्तदान कार्यक्रम, ‘पोखरा भवन’ र पुल शिलान्याससहित मूल समारोहको आयोजना गरियो ।
पोखरा–९ पृथ्वीचोकमा एकीकृत पर्यटकीय सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघरसहित बन्ने ‘पोखरा भवन’को महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरेको हो । तीनतले उक्त भवन रु १० करोडको लागतमा निर्माण हुनेछ ।
स्थापना दिवसकै अवसर पारेर पोखरा–१९ खुइतेखोलामा पुलको शिलान्यास गरिएको महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । पोखरा सभागृहमा आयोजित मूल समारोहमा महानगर प्रमुख आचार्यले आगामी वर्षदेखि पुस २ गते महानगर स्थापना दिवस मनाइने बताए ।
विसं २०१६ पुस २ गते तत्कालीन पोखरा नगरपालिका स्थापना भएको दिनलाई नै महानगर स्थापना दिवसका रुपमा मनाइएको उनले बताए । नगरपालिका, उपमहानगरपालिका हुँदै २०७३ सालमा पोखरा महानगरपालिका बनेको हो ।
महानगरप्रमुख आचार्यले महानगरको सिङ्गो टोली एकजुट भएर लागेमा मात्र नागरिकलाई प्रतिफल दिन सकिने बताए । “म एक्लै हिँडेर कहीँ पुग्न सक्दिन, सबैले आ–आफ्नो उत्तरदायित्व बहन गरौँ, जिम्मेवारीलाई मनन गरौँ”, उनले भने, “महानगरको राम्रो आधार तयार भएको छ, अब समुन्नत महानगर बनाउनतर्फ जनप्रतिनिधि, कर्मचारीलगायत सबैले हातेमालो गरौँ ।”
महानगरको कर्मचारी व्यवस्थापनको समस्या छिट्टै समाधान हुने र अबदेखि कर्मचारीको पदपूर्ति लोकसेवा आयोगमार्फत गरिने प्रमुख आचार्यले बताए । महानगरपालिकाको सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले जनप्रतिनिधि र कर्मचारी जवाफदेही बन्नुपर्ने बताए ।
जनआकाङ्क्षा पूरा गर्न पोखरा महानगरपालिकाले आफ्नो संस्थागत कार्यक्षमता वृद्धि गर्नुपर्ने उनले बताए । वातावरणमैत्री, फोहोरमैलामुक्त र अपराधमुक्त पोखरा सहर निर्माणका लागि महानगरले अगुवाइ गर्नुपर्नेमा संयोजक मुल्मीले जोड दिए ।