काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन आज मंगलवार हुँदैछ । आज बिहान ११ बजेर ९ मिनेटमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाउने छ।
संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष सभाको बैठकमा राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । अभ्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनले अघि सारेका दाहाल २०७८ मा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए। सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।
यस्तै काँग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनी ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका थिए।
माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति रहेको छ। उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार बन्ने सहमति छ।