जिसस कास्कीद्वारा वित्तिय सुशासनको नतिजा सार्वजनिक

-


     मर्दी न्युज    
     ३० फाल्गुन २०८० मा प्रकाशित


पोखरा, ३० फागुन । जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरूको आर्थिक वर्ष २०७९÷८०को वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजा अनुसार वित्तिय सुशासनमा रुपा गाउँपालिकाले ६७ अङ्क प्राप्त गरेको छ। त्यस्तै माछापुच्छ्रे गाउँपालिकाले ६४.५, अन्नपूर्णले ६२, मादिले ६०.५ र पोखरा महानगर पालिकाले ६० अङ्क प्राप्त गरेका छ्न।

मंगलबार विशेष सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरि उक्त नतिजा सार्वजनिक गरिएको जि ।स ।स। कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।

प्रमुख पौडेलले कास्कीका पालिकाहरू सबैले साठी प्रतिशत भन्दा माथिको नतिजासहित वित्तिय जोखिमको मध्यम जोखिममा देखिएको उल्लेख्य गर्दै वित्तिय सुशासनमा अब्बल देखिने नतिजा अबको लक्ष्य बनाउन आग्रह गरे।

उनले सुशासन र समृद्धिको महत्त्वपूर्ण जग बित्तिय सुशासन भएको हुँदा हरेक पालिका चालू आर्थिक बर्षमा बेरुजुरहित हुनतर्फ ध्यान केन्द्रित गर्न राष्ट्रसेवक कर्मचारी र जन प्रतिनिधिहरू लाग्न आग्रह गरे । सुशासन सबैको साझा दायित्व भएको भन्दै पौडेलले बार्षिक कार्ययोजना मुताबिक कार्य सम्पादन गर्न आग्रह गरे ।

उक्त मुल्यांकनमा वित्तिय सुशासन जोखिम मूल्यांकन कार्यविधि –२०७७ लाई आधार बनाइ योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ,लेखाङ्कन तथा प्रतिबेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजश्व व्यवस्थापनका विषय क्षेत्र तोकी कुल ११८ वटा सुचकमा आधारित भएर १०० पूर्णाङ्कमा मूल्यांकन गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए।

शाखा अधिकृत झबिश्वर रेग्मिले काम गराइ र बुझाइमा एकरूपता नहुनु,नतिजाको प्रभाबकारी कार्यान्वयन र समिक्षा अभाव, अभिलेख व्यवस्थापन प्रभावकारी हुन नसक्नु, जस्ता बिषय कठिनाईको रूपमा देखिएको उल्लेख गरे । कार्यक्रममा कास्कीका पालिका प्रमुख, गण्डकी प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव यमुना प्रधान, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, कास्कीका पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरू, जिल्ला समन्वयका सदस्यहरूसहित सञ्चारकर्मी एवम् पत्रकारहरूको उपस्थिति रहेको थियो ।
जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेबी बिक र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।