पोखरा, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराका पत्रकार दीपेन्द्र श्रेष्ठ र मरणोपरान्त त्रिभुवन पौडेललाई पुरस्कार प्रदान गरेका छन् । स्वर्गीय त्रिभुवन पौडेलकी आमा र उनकी जीवनसाथी प्रतिभालाई प्रधानमन्त्री दाहालले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
दयाशंकर स्मृति पुरस्कार नेपाल पत्रकार महासंघले पत्रकार श्रेष्ठ र पौडेललाई प्रदान गर्ने निर्णय गरेको थियो । आइतबार पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले श्रेष्ठ र पौडेल परिवारलाई १/१ लाख रुपैयाँ राशि नगद र सम्मानपत्र प्रदान गरे ।
पुरस्कार प्रदानपछि बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान युग विज्ञान–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग भएको बताए ।
प्रधानमन्त्री प्रचण्डल सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने जनाए ।
अर्को एक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा पहल भइरहेको बताउँदै त्यसका लागि दुवै छिमेकी राष्ट्रसँग पहल भइरहेको बताए ।
विमानस्थलको निर्माण लागेको ऋणको व्यवस्थापनका सम्बन्धमा पनि पहल भएको उनले बताए ।