आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     १० चैत्र २०८० मा प्रकाशित


पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जसको प्रभावले अहिले बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।