एसइई आजबाट सुरू, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै

-


     मर्दी न्युज    
     चैत्र १५ गते २०८० मा प्रकाशित


माध्यामिक शिक्षा परीक्षा (एसइई)आज बिहीबारदेखि सुरु हुँदैछ। दुई हजार ६३ परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षा २७ गतेसम्म चल्नेछ।

परीक्षामा देशभरबाट पाँच लाख चार हजार ४१४ जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताए । उनका अनुसार ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

यस पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने भएकाले पास र फेल हुने व्यवस्था गरिएको छ। विगतमा ग्रेडिङ प्रणालीमा पास र फेलको व्यवस्था थिएन। यसपटक परीक्षार्थीले पास हुन प्रत्येक विषयको सैद्धान्तिकतर्फ ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत ल्याउनुपर्नेछ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एकरएक, पर्सा र सप्तरीबाट दुई दुई, रुपन्देहीबाट चार जना छन् ।

परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यस वर्षको एसइई परीषमा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए । उनका अनुसार जापानमा रहेको एभरेष्ट स्कुलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।