
पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
अहिले बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।