राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट घिमिरे र कांग्रेसबाट पुडासैनीले गराए उम्मेदवारी दर्ता

-


     मर्दी न्युज    
     चैत्र २७ गते २०८० मा प्रकाशित


काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदमा एमालेबाट विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन्। बुधबार हुने उपाध्यक्षको निर्वाचनका लागि सङ्घीय संसद् भवनको ल्होत्से हलमा पुगेर घिमिरे र पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेले यस अगाडि नै उनलाई उम्मेदवारी बनाउने घोषणा गरेको थियो। पुडासैनीलाई भने आज बिहान बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो।

५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले एक जना मनोनित गर्न बाँकी रहेको छ। अहिले संसदमा नेकपा (माओवादी केन्द्र) का १७, नेपाली कांग्रेसका १६, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का ८, जसपाका ४ र २ जना मनोनीत सदस्य छन्। राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ।