संसदको चालु अधिवेशन वैशाख २ बाट अन्त्य गर्न सरकारको सिफारिस

-


     मर्दी न्युज    
     ३० चैत्र २०८० मा प्रकाशित


काठमाडौँ । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यस्तै उनले सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै मन्त्री शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइन् ।

उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय समेत गरेको बताइन् ।

मन्त्री शर्माले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको जानकारी दिइन् । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको बताइन् ।