पोखरा । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
पोखरा–१६ स्थित सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका सिसौ, सल्लालगायतका रुखहरू काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
बोर्डिङ स्कुलभित्रका रूखहरू कटान गरी बाहिर फर्निचरमा बिक्री गरेको भन्ने उजुरीपछि जाँचबुझ एवं अनुसन्धान गर्दा स्कुल परिसरको खेलकुद ग्राउण्ड, छात्रावास र कम्पाउण्ड बालसँग जोडिएका सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूखहरू काटिएको पाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।
वन नियमावली, २०७९ को दफा ३७ बमोजिमको प्रक्रिया पूरा नगरी कटान गरेको, रुखहरूबाट उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले कोटेसनबाट लिलाम बढाबढ गरी ६० हजारमा बिक्री गरेको अभियोग छ । गण्डकी प्रदेश वन ऐन, २०८० को दफा ६६ कोसमेत उल्लङ्घन गरेको अनुसन्धानबाट पुष्टि भएको पाइएको हो ।
वन ऐन, २०७६ को दफा ४९ को उपदफा (घ) अनुसारको कसुर गरी बिगो मूल्य ३ लाख ७९ हजार ४ सय बराबरको वन पैदावार हानी नोक्सानी गरेको पुष्टि हुन आएको डिभिजन वन कार्यालय कास्कीले जनाएको छ । ऐनको दफा ५० को उपदफा १४ बमोजिम बिगो असुल गरी १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजायको मागदावी गर्नै डिभिजन वन कार्यालय कास्कीले चैत २७ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएका हुन् ।
वन कार्यालयले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध मुद्दा दर्ता गराएको हो ।