कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

-


     मर्दी न्युज    
     ९ बैशाख २०८१ मा प्रकाशित


पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अहिले बिहान सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ ।

लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थानमा हुरीबतासको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थान र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरीबतासको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।