काठमाडौँ, ७ वैशाख । हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् ।
ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । “बाढीले क्षति गर्ने सम्भावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ”, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिए ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको हो । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेका कारण तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको सामागाउँका दिजेन लामाले जानकारी दिए ।
“बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ”, उनले भने, “हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।”
वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।