पहाडी भेगमा आंशिक बदली, तराई क्षेत्रमा हावाहुरीको सम्भावना

-


     मर्दी न्युज    
     वैशाख १० गते २०८१ मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले बिहान पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी, कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी भागका मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज अपराह्न र राति लुम्बिनी, कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।