
तस्विरः अमृत थापा
पोखरा । तमुहरुको सामाजिक, धार्मिक र ऐतिहासिक रुपले अति महत्वपूर्ण प्राचीन वस्ती ‘क्होला सोँथर’ पुनः उत्खनन हुने भएको छ । पुरातत्व विभागको पहलमा पुरातात्विक उत्खनन हुन लागेको हो ।
क्होला उत्खननका लागि तत्कालिन पुरातत्व विभाग प्रमुख एवम् पुरातत्वविद् उद्वव आचार्य, नवराज अधिकारी, आर्किटेक इन्जिनियर सुषमा पाठक, राजन पौडेलसहित करिब १२ जना शनिवार क्होलातर्फ लागेका छन् । पोखराबाट आज दिउँसो क्होलाका लागि प्रस्थान गरेका उनीहरु पर्यटकीय गाउँ सिक्लेसमा बास बस्ने छ भने भोलि क्होलामा पुग्ने छन् ।
सन् २००० सालमा पहिलोपटक क्याम्ब्रिज विश्वविद्यालयको पुरातत्व विभाग र नेपाल पुरातत्व विभागले संयुक्त रुपमा क्होलाको उत्खनन शुरु गरेका थिए । त्यसबेला देशमा बढ्दो द्वन्द्वले उत्खनन कार्य बीचमै छाड्न परेको थियो । त्यसबेलाको उत्खनन गर्दा प्राप्त अँगारको कार्बन डेडिङबाट करिब १२०० वर्ष पुरानो भएको प्रमाणि भएका थिए ।
क्होलाको उत्खननका लागि छनौट गरिएका तीनवटा साइटमध्ये सन् २००० मा पहिलो साइटको उत्खनन गरिएको पहिलाे क्हाेला उत्खननकर्तासमेत रहेका पुरातत्वविद् उद्वव आचार्य बताए । यसपटकको उत्खनन दोस्रो या तेस्रो नम्बरको साइटमा हुने उनले जनाए ।
तत्कालिन क्होला उत्खननका को–डाइरेक्टर तथा पच्यु पैंडी चिवा यारजङ क्रोँम्छैँले फोनमार्फत क्होलालगायत क्रबु, ल्हीधीँ, खुँइदोँ, चिक्रेँ, थुर्चु, प्हुर्चु, पक्रेँलगायतका अन्य भूभागमा पनि क्रमशः उत्खनन गरेमा तमुको बसाइँ सराइँबारे थप विवरण आउने बताए ।
पुरातात्विक उत्खननका लागि प्रस्थान गरेका समूहलाई तमु प्ये ल्हु संघको संस्थापक सदस्य भोवर पाल्च्ह तमु र पूर्व माननीय कृष्णबहादुर गुरुङले सफल कार्य र सुखद बसाइको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।