सर्वोच्चद्वारा गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज

-


     मर्दी न्युज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित


सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ । योसँगै मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिन बाटो खुलेको छ । यसअघि सर्वोच्चले यो रिटमा अन्तरिम आदेश जारी गर्दै दीर्घकालिन महत्त्वका निर्णय नगर्ने भनेको थियो । 

काँग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत मत गणना भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्न आदेश माग गर्दै रिट दायर गरेका थिए ।

सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हाे ।

२५ चैत २०७९ मा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफूलाई एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार दीपक मनाङेको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

त्यस आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तर काँग्रेस नेता पाण्डेले माओवादी संसदीय दलभित्र सांसदको गणना गर्दा सभामुख कृष्ण धितालको पनि गणना भएको भन्दै यो संविधान विपरीत हुने दाबी गरेर रिट दिएका थिए ।