पुरातात्विक क्होला क्षेत्रमा संरचनाहरु निर्माण बढिरहेकाले पुरातत्वविद्बाट चिन्ता व्यक्त

-


     मर्दी न्युज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित


पोखरा । तमुहरुको ऐतिहासिक, सामाजिक एवम् पुरातात्विक महत्व बोकेको क्होला क्षेत्रमा संरचनाहरु निर्माण गर्दै गएकाले पुरातत्वविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

क्होला तमु (परिवार) पोखरालगायत अन्य थरका तमुहरुको समन्वयमा नेपाल पुरातत्व विभागबाट यही वैशाख १४ गतेदेखि २९ गतेसम्म भएको पुरातात्विक उत्खनन्बारे जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा पुरातत्वविद् उद्धव आचार्यले संरचनाहरु निर्माण हुँदै गएकाले चिन्ता व्यक्त गरेका हुन् ।

पुरातत्वविद् आचार्यले वि.सं. २०५८ सालमा क्याम्ब्रिज विश्वविद्यालयको पुरातत्व विभाग र नेपाल पुरातत्व विभागको संयुक्त रुपमा उत्खनन् गर्दा देखिएका ओखल, ढुङ्गेधारालगायतका सामग्रीहरु नदेखिनु र भग्नावशेष माथि नै संरचना बनाउनुले क्होलाको संरक्षण नभई विनाश भइरहेको बताए ।

विसं. २०५८ सालदेखि लामो समयसम्म पनि उत्खनन् हुन नसेकाले कतिपय भौतिक संरचनाहरु विनाश हुँदै गइरहेको उनले बताए ।

यसपटकको उत्खनन्मा ‘पोष्ट होल’ र विभिन्न ‘तह’हरु फेला परेको पुरातत्वविद् आचार्यले बताए । एकै ठाउँमा तीन फेज गरी बसेको यसपटकको उत्खनन्मा भेटिएको उनले जानकारी दिए । पुरातत्वविद् उद्वव आचार्यले पहिले टहरा बनाएर र पछि घर निर्माण गरी बसेको तथ्य फेला परेको जानकारी दिए । उनले एक मिटर ८६ सेन्टीमिटर गहिराईबाट कोइला संकलन गरिसकेकाले कार्बन डेटिङका लागि ल्याबमा पठाउने जानकारी दिए । एक सय ८६ सेन्टिमीटर गहिराईमा ‘पोष्ट होल’ फेला पर्नुले धेरै पुरानो बस्ती भएको अनुमान लगाउन सकिने उनले बताए ।

‘एक सय ८६ सेन्टिमीटरसम्म ‘पोष्ट होल’ फेला परेकाले धेरै पुरानो बसोबास हुनसक्छ, यसको परीक्षणपछि मात्र एकिन हुन्छ’, उनले भने । त्यसैगरी अर्को ठाउँमा एउटा क्रिष्टल पनि फेला परेको बताए । क्रिष्टलले प्राचीन युगमा आगो बाल्न प्रयोग गरेको हुनसक्ने आचार्यले बताए ।

यसैगरी पूर्व मन्त्रीसमेत रहेको देवप्रसाद गुरुङले क्होला क्षेत्रको क्षेत्रफल निर्धारण गरी त्यसको संरक्षण गर्नुपर्ने बताए । क्होला क्षेत्र, ऐतिहासिक, साँस्कृतिक पहिचान एवम् पर्यटकीय स्थलको रुपमा पनि अति महत्वपूर्ण भएकाले त्यसको क्षेत्रफल निर्धारण गरी पुरातात्विक उत्खनन्, संरक्षण र विकास गर्नुपर्ने बताए ।

क्होला क्षेत्रको संरक्षणको लागि आफूपनि निरन्तर लागि रहेको बताउँदै सबै तमुहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा छाउनी संग्रहालयका नवराज अधिकारी, माननीय कृष्णबहादुर तमु, तमु ह्युल छोँज धीँका प्रतिनिधि दिलमाया तमु, तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओमबहादुर थिम्जे तमु, तमु धीँ नेपालका अध्यक्ष हुमबहादुर तमुलगायतले आआफ्ना धारणा राखेका थिए ।