आजको मौसमः देशभर आंशिक बदली, थोरै स्थानमा मेघगर्जन र हुरीबताससहित वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले शका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरी बतास एवं चट्याङसहित हल्का वर्षा हुने तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरी बतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र पहाडी भागका एक–दुई स्थानमा स्थानमा मेघगर्जन, हुरी बतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।