प्राइम सहकारीका अध्यक्ष कार्की र सचिव पौडेलसहित ८ जना सञ्चालक पक्राउ

-


     मर्दी न्युज    
     जेठ १ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको गैह्रापाटनस्थित सञ्चालनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शंकर कार्की र सचिव सुरेन्द्रमणि पौडेल सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार प्रहरीले उक्त सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य मानबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

बचतकर्ताको १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ हिनामिना तथा अपचलन गरेको कसुरमा उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

सहकारीका सञ्चालक समितिका पदाधिकारीसमेतले बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको र ठगी गरेको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले प्रहरीमा जाहेरी दिएको थियो ।