आजको मौसमः गण्डकी र कोशी प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     जेठ १ गते २०८१ मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित मुलुकका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा तराई क्षेत्रमा पनि आंशिक बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही देशका बाँकी भेगमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।