इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटनास्थल फेला पर्‍यो

-


     मर्दी न्युज    
     जेठ ६ गते २०८१ मा प्रकाशित


एजेन्सी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी यात्रारत हेलिकोप्टर दुर्घटना भएको क्षेत्र पत्ता लागेको जनाएको छ।

टेलिभिजनले राष्ट्रपति रइसी चढेको हेलिकोप्टरमा जीवनको कुनै सङ्केत नरहेको बताएको छ।

रोयटर्स समाचार एजेन्सीले पनि एक अज्ञात इरानी अधिकारीलाई उद्धृत गर्दै सबै यात्रुको मृत्यु भएको आशंका गरेको बताएको छ।

रेड क्रिसेन्टले लिएको भग्नावशेषको ड्रोन फुटेज र सरकारी मिडियाले दुर्घटना स्थललाई ठाडो, जङ्गलले भरिएको पहाडमा देखाएको र नीलो र सेतो पुच्छर पछाडि हेलिकप्टरको थोरै बाँकी रहेको सञ्चारमाध्यमले जनाएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए।