
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।
प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा शून्य मत पर्यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।
प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।
जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिएका थिए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै काँग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।
विश्वासको मत लिँदा पनि काँग्रेसले अवरोध गरिरहेपछि रोष्टमबाट प्रधानमन्त्री प्रचण्डले आक्रोश व्यक्त गर्दै कांग्रेसको यो गतिविधि कलंकको रुपमा स्थापित हुने जिकिर गरे ।