पोखरा । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले अहिले बिहान कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
यसैगरी राति कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।