प्रधानमन्त्री ‘प्रचण्ड’सहितको नेपाली टोली भारत प्रस्थान

-


     मर्दी न्युज    
     जेठ २६ गते २०८१ मा प्रकाशित


काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए । उनको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् ।

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज साँझ शपथ लिने कार्यक्रम छ । सो शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच आज साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।