पोखरा । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले अहिले बिहान कोशी प्रदेश, लुम्बिनि प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आज राति भने कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।