थोरोङ पिक आरोहीलाई सम्मान

-


     मर्दी न्युज    
     असार १ गते २०८१ मा प्रकाशित


पोखरा, ३२ जेठ । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रबद्र्धनमा आयोजित थोरोङ पिक आरोहण गरेका आरोहीलाई आज पोखरामा नगरपरिक्रमासहित सम्मान गरिएको छ ।

प्रशिक्षकसहित नौ पर्वतारोहीले यही जेठ ३० गते थोरोङ पिकको आरोहण गरेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले जानकारी दिए । उनका अनुसार आरोहीहरूले पाँच हजार ४१६ मिटर उचाईको थोरोङ पास हुँदै ६ हजार १४४ मिटर उचाईको थोरोङ पिक आरोहण गरेका थिए ।

आरोहीको नगरपरिक्रमा एवम् सम्मान कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतारोहण पर्यटन नेपालको विशिष्टता भएको बताए । गण्डकी प्रदेशमा रहेका अन्नपूर्ण, धवलागिरि, मनास्लु लगायतका हिमाललाई अपेक्षित रुपमा पर्यटकीय प्रवद्र्धन गर्न नसकिएको उल्लेख गर्दै उनले यसतर्फ सम्बद्ध सबैको ध्यान पुग्नु जरुरी रहेको बताए । हामीसँग जनशक्तिको अभावसँगै भएको जनशक्ति पनि प्रयोग हुन नसकेकोतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले पर्वतीय पर्यटन नेपालको पहिचान भएकाले यसको उपयोग गर्नु आवश्यक भएको बताए । गण्डकी प्रदेशमा रहेका हिमाली चुचुरालाई पर्यटनसँग जोड्नु आवश्यक भएको उनको भनाइ छ । कार्यक्रम संयोजक एवम् नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्माले सङ्घकै आयोजनामा कोरोनालगत्तै ६ हजार १२ मिटरको धम्पुस पिक आरोहण गरिएको उल्लेख गर्दै थोरोङ पिक आरोहणका विभिन्न अनुभव सुनाए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले गण्डकी प्रदेशका हिमाललाई आरोहण पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै यसका लागि दक्षजनशक्ति तयार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका लेखा अधिकृत एवम् आरोहण दलका सदस्य सागर श्रेष्ठ, प्रमुख प्रशिक्षक पुरबहादुर गुरुङ, नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष जीवनराज सापकोटा, सचिव मनसान्त घिमिरे, सल्लाहकार टीकाराम सापकोटालगायतले आ–आफ्नो धारणा राखेका थिए ।