आज यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     असार १ गते २०८१ मा प्रकाशित


पोखरा । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले अहिले बिहान कोशी प्रदेशमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरुमा, बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशको केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।