पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

-


     रासस    
     असार ४ गते २०८१ मा प्रकाशित


लमजुङ, ४ असार । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चर्पाइँले जानकारी दिए । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए ।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।