पोखरा । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती, गण्डकीका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको छ बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।
अहिले बिहान कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्य सफा रहेको छ । गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेश र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव तथा बाढीपहिरोको जोखिम रहेको विभागले बताएको छ ।
भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।