आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     असार १० गते २०८१ मा प्रकाशित


पोखरा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले अहिले बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव तथा बाढीपहिरोको जोखिम रहेको विभागले बताएको छ । भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।