एसइईको नतिजा सार्वजनिक

-


     मर्दी न्युज    
     १३ असार २०८१ मा प्रकाशित


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।

१८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।

सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

बोर्डले नतिजामा यस पटक फरक मापदण्ड तय गरेको छ । कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनुपर्ने नियम पनि लागू गरिएको छ ।

प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ । अन्यथा अनुत्तीर्ण भएको विषयमा विद्यार्थीले पूरक परीक्षा दिनुपर्नेछ । नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएमएस एस गरेर तथा वेबसाइटमार्फत पनि थाहा पाउन सकिनेछ ।