आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     १८ असार २०८१ मा प्रकाशित


पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले बिहान देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति पनि देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।