पृथ्वीराजमार्गको कल्भर्ड बाढीले बगायो, यातायात ठप्प

-


     मर्दी न्युज    
     २२ असार २०८१ मा प्रकाशित


तनहुँ, २२ असार । पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएका छन् ।

सूचनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । उनले भने, “कल्भर्ड बगाएपछि राजमार्गमा सवारीसाधान सञ्चालन गर्न समय लाग्ने देखिएको छ ।”

म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खसिरहेकाले पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिनाइ देखिएको उपरीक्षक रायले जानकारी दिए । उनले भने, “सडक माथिबाट निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पानी पर्न रोकिएपछि पहिरो पन्छाउने छौँ ।”

पृथ्वीराजमार्गको अन्य क्षेत्रमा पहिरो खस्दा अवरोध भएका सडक पहिरो पन्छाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ । शुक्रबार रातिदेखि अविरल वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।