मर्दीन्यूजका पदम घले प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

-


     मर्दी न्युज    
     २७ असार २०८१ मा प्रकाशित


SAMSUNG CSC

काठमाडौं । मर्दीन्यूज डट कम अनलाइनका कार्टुनिष्ट तथा सञ्चालक सदस्य पदम घले प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने उक्त पुरस्कार अन्तर्गत ललितकला विधातर्फ घलेले गण्डकी प्रदेशबाट प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गरेका हुन् ।

विहीबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित एक समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले कलाकार घलेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेका हुन् ।

उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । नेपाली मौलिक चित्रकलालाई विश्वमाझ चिनाउन घलेको यागदान महत्वपूर्ण छ । उनले नेपालसहित विश्वका विभिन्न देशमा आफूले पेन्टिङ गरेका चित्रहरु प्रदर्शन गर्दै नेपाली मौलिक कलालाई प्रबद्र्धनमा समेत महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

भाषा एवम् साहित्य, संस्कृति, संगीत तथा नाट्य र ललितकला गरि चार विधामा विभिन्न सष्टा तथा सर्जकहरुलाई ‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८०’ प्रदान गरिएको हो ।

गण्डकी प्रदेशका घलेसँगै कोशी प्रदेशका सरोजा खङ्गी, मधेश प्रदेशका सुनैना ठाकुर, बाग्मती प्रदेशका कृष्णगोपाल श्रेष्ठ, लुम्बिनी प्रदेशका यामबहादुर थापा, कर्णाली प्रदेशका सोनाम डोल्मा तामाङ र सुदुरपश्चिम प्रदेशका सुरेशकुमार पाल्पाली पनि ललितकला विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

सोही कार्यक्रममा महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार, आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार, योगमाया राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कारबाट विभिन्न सष्ट्रा तथा सर्जकहरुलाई पुरस्कृत गरिएको थियो ।