
एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानको माथिल्लो भागबाट रगत बगेको देखिन्छ । रगत अनुहारमा समेत लागेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए ।
अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति ट्रम्प सहभागी एक चुनावी र्यालीमा शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) गोली प्रहार भएको हो । पेन्सीलभानियाको बटलरमा भएको चुनावी र्यालीमा उनीमाथि गोली प्रहार भएको हो । उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गरेका छन् ।