काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए । दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ ।
तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने छन् । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । त्यस्तै आज समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने भएको छ ।