
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो। मत दिन्न भन्ने पक्षमा १ मत परेको छ।
प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी पेश गरेको प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए। प्रधानमन्त्री ओलीले संविधानको धारा १०० (४) अनुसार संसद् बैठकबाट विश्वासको मत लिएका हुन् ।
बहुमतका लागि ओलीलाई १३८ मतको आवश्यक थियो। आइतबार प्रतिनिधिसभा बैठकमा २७५ सदस्यमध्ये २६३ जना सांसद उपस्थित थिए। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका हुन् ।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते प्रधानमन्त्री नियुक्त गरेका थिए । नियुक्ति लगतै उनले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेसहित काँग्रेस, जसपा र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी छन् ।