पोखरा । राईड सेयरिङलाई वैधानिकता दिन लागेको भन्दै यातायात व्यवसायी विरोधमा उत्रिएका छन् ।
गण्डकी प्रदेश सरकारले राईड सेयरिङलाई वैधानिकता दिनेगरी कार्यविधि बनाउन लागेको भन्दै पोखराका यातायात व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । यो कार्यविधि तत्काल खारेज नगरे साउन १३ गतेबाट आआफ्ना सवारी साधनहरू घर ग्यारेजमा थन्क्याएर आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
विहीवार पोखरामा पत्रकार सम्मेलन गरेका व्यवसायीले सडकमा गाडी तेस्र्याएर प्रदेश सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
गण्डकीका यातायात व्यवसायीहरूले भौतिक पूर्वाधार विकास तथा यातायात सचिव शंकर पण्डितलाई बिहीबार ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
व्यवसायीहरूले श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने, यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने माग पनि राखेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र एकीकृत यातायात मजदुर संघले पनि व्यवसायीको आन्दोलनमा साथ दिँदै राइड सेयरिङलाई वैधानिकता नदिन दबाब दिएका छन् ।
गण्डकी प्रदेशले राइड सेयरिङ सेवा दिने संस्थालाई दर्ता गर्न कार्यविधिको मस्यौदा तयार गरेको छ ।