गण्डकीमा आजदेखि अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

-


     मर्दी न्युज    
     १३ साउन २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा आज आइतबारदेखि सार्वजनिक यातायातका सवारी सञ्चालन पारेको छ । राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध व्यवसायीले आफ्ना सवारी थन्क्याएरै आन्दोलमा होमिएका हुन् । आन्दोलनले सर्वसाधारण तथा विद्यार्थीहरुलाई मर्कामा पारेका छन् ।

आन्दोलनअन्तर्गत गत बिहीबार पोखराको सरकारी कार्यालय क्षेत्रमा यातायात व्यवसायीहरुले करिब १ घण्टा आआफ्नो सवारी साधन सडकमा राखेर र्यालीसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले शनिबार विज्ञप्ति जारी गरी आइतबारदेखि गण्डकीमा सार्वजनिक यातायात सञ्चालन बन्द गर्ने जानकारी दिएको हो ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जिल्ला प्रशासन कायालय कास्की यातायात व्यवासायीका मागलाई बेवास्ता गरेपछि आफूहरु आन्दोलनमा होमिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा सरिक हुन सबै व्यवसाय तथा मजदुरलाई अपिल गरेको छ ।

यो आन्दोलनमा यातायातसँग सम्बन्धित विभिन्न संघसंस्था र मजदुर संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् ।