पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

-


     मर्दी न्युज    
     श्रावण १४ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको छोरेपाटनमा सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो ।

बसमा २२ जना विद्यार्थी र २ जना स्टाफसहित २४ जना सवार थिए । प्रारम्भिक जानकारी अनुसार विद्यार्थीहरू सामान्य घाइते छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बस नपल्टिकनै सिधा रुपमा घस्रिएर धेरै तल पुगेको र बल्ड्याङ नखाएका हुनाले ठूलो क्षति हुनबाट जोगिन सफल भयो ।

बस मट्टिखानबाट विद्यार्थी लिएर स्कुलतर्फ फर्कंदै थियो । विद्यार्थी तथा चालक, सहयोगीको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।