मन्त्री मनाङेलाई कारवाही गर्न पत्रकारहरुको माग

-


     मर्दी न्युज    
     श्रावण १४ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारबाही गर्न पत्रकारले माग गरेका छन् ।

संसदीय पत्रकार मञ्च, गण्डकीको नेतृत्वमा सोमबार मनाङेलाई कारबाहीको माग गर्दै कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मञ्चका अध्यक्ष भरत कोइरालाले बुझाएको पत्रमा मन्त्री मनाङेका पछिल्ला गतिविधिलाई लोकतान्त्रिक व्यवस्थाप्रतिको भद्दा मजाकको संज्ञा दिइएको छ । यस्तै, पत्रमा मन्त्रिपरिषद्का सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०७४ मा मन्त्रीको पोसाक मर्यादित हुनुपर्ने व्यवस्था गरिएको तर त्यसविपरीत गरेको समाचार लेख्दा धम्की दिनु प्रेसमाथिको हस्तक्षेप भएको उल्लेख छ ।

आइतबार मन्त्री मनाङेले कार्यकक्षमै बसेर अनलाइन खबर डटकममा कार्यरत पत्रकार अमृत सुवेदीले कुटाइ खानुपर्ने आशयको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो ।

यातायात व्यवसायीको आन्दोलनका क्रममा व्यवसायीले पृथ्वीचोकमा २ पत्रकारमाथि हातपात गरेको प्रसंग जोड्दै मन्त्री मनाङेले भनेका थिए, ‘त्यो अमृत सुवेदीले कुटाइ खानुपर्नेमा यी सोझा पत्रकारहरुले कुटाइ खाएछ ।’

शनिबार पत्रकार सुवेदीले मन्त्री मनाङेले कार्यकक्षमा गन्जीमात्रै लगाएर बसेको तस्बिरसहितको समाचार लेखेका थिए। मञ्चको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘मन्त्रीले पदीय मर्यादाको ख्यालै नगरी भित्री बस्त्र मात्र लगाएर मन्त्रालयको कुर्सीमा बस्नु आफै अशोभनीय कार्य हो ।’

पत्र बुझेपछि कार्यबाहक मुख्यमन्त्री थापाले आफूले आइतबार राति नै यस विषयमा मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएको प्रतिक्रिया दिए ।